[go: up one dir, main page]

कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

बाघ निरीक्षणका लागि क्यामेरा जडान

श्रावण ३०, २०८१
बाघ निरीक्षणका लागि क्यामेरा जडान

तिलोत्तमा — रूपन्देहीको तिनाउ आसपासमा बाघ रहेको हल्ला चलेपछि प्राविधिक टोली केही दिनअघि रुपन्देही आइपुगेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनबाट प्राविधिक टोली मंगलबार रुपन्देही आएको हो ।

टोलीले बुधबार बिहान बाघ आएको भनिएको सियारी गाउँपालिका-७ मा स्थलगत अवलोकनपछि निगरानीका लागि क्यामेरा जडान गरेको छ ।

स्थलगत अवलोकन गर्दा त्यस क्षेत्रमा ठूलो बाघ लुक्न वा बस्न सक्ने जंगल क्षेत्र नरहेको पाइएको वन्यजन्तु प्राविधिक दीप प्रसाद चौधरीले बताए । उनका अनुसार बाघ देखिएको भन्ने क्षेत्रमा ४ वटा क्यामेरा जडान गरी निरीक्षण गर्ने काम सुरु गरिएको छ भने यसलाई ३/४ दिनसम्म निरन्तरता दिइने जनाइएको छ ।

बाघ देखेका हौं भन्ने र त्यसबारे सुनेका सबै स्थानीय बाघको हल्लाले त्रसित छन् । बस्तीनजिकै बाघ देखिन थालेपछि प्रशासनले नियन्त्रणमा लिने प्रयास थालेको छ । गत साउन १७ मा शुद्धोधन–३ र सियारी गाउंँपालिकाले वडा न. ७ स्थित तिनाउ नदी आसपासमा बच्चासहितका तीनवटा बाघ देखिएको भनेपछि सतर्कता अपनाउन सूचना जारी गरेको थियो ।

गत साउन २१ मा तिलोत्तमा नगरपालिकाको कार्यालयले पनि तिनाउ नदीको आसपासमा बाघ आएको सूचना प्राप्त भएपछि सतर्कता अपनाउन सूचना जारी गरेको थियो ।

सियारी गाउँपालिकाले बस्ती नजिक बाघ देखिएको भनेर पत्राचार गरेपछि कार्यालयले प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएको वरिष्ठ वन अधिकृत दीपक केसीले बताए । प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई सुचना गरेपछि उनकै निर्देशनमा कमाण्डर टोलीले सियारी पुगेर यथार्थ बुझेको र त्यसै अनुसार समन्वय गरि बर्दिया र चितवन निकुन्जमा पत्राचार गरेरर् प्राविधिक सहयोग मागिएको उनले बताए ।

स्थानीयले बाघ देखेको भनी वडा र पालिकामा भनेपश्चात सूचना जारी गरेपछि प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले गत शनिबार वन कार्यालयको टोली पठाएर वास्तविकता बुझ्न लगाएका थिए । वनको टोलीले वस्तुस्थिति बुझेर बाघ रहेको यकिन गरेपछि आइतबार प्रमुख जिल्ला अधिकारी आफैं सियारी पुगेका थिए ।

स्थानीय र जनप्रतिनिधिसंग कुरा गर्दा उनीहरूले गत साउन १७ मा बाघ देखेपछि आफ्नो हिसाबले सतर्कता अपनाउँदै आएको र शनिबार पुनः बाघ देखेर केही महिला बेहोस भएको आफूलाई सुनाएको प्रजिअ अर्यालले बताए ।

‘बस्तीनजिक देखिएको बाघ हो वा अन्य कुनै जनावर त्यसलाई नियन्त्रणमा लिन जरुरी छ,’ अर्यालले भने, ‘त्यसका लागि प्रकृति संरक्षण कोषको प्राविधिक टोलीलाई रूपन्देहीमा बोलाइसकेका छौं ।’

प्रकाशित : श्रावण ३०, २०८१ १६:५२
×